काठमाडौं । देशका धेरै भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कतिपय स्थानमा अहिले पनि पानी परिरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार आज राति प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागका भनाइ छ ।