दिल्लीमा प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी मोदीबीच भेटवार्ता

ओकेखबर संवाददाता २८ जेष्ठ २०८१, सोमबार ०८:३१ मा प्रकाशित ( महिना अघि) ४९ पाठक संख्या

काठमाण्डौ – भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हिजो बेलुकी भएको भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले समकक्षी मोदीलाई लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिनुभएको थियो ।

साथै उहाँको तेस्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल हुनुका साथै विगतमा भएका समझदारी एवम् सम्झौताहरूको विषयमा विचार विमर्श पनि भएको थियो ।

यसअघि हिजो नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ का साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ आज बेलुकी स्वदेश फर्कने कार्यक्रम छ ।


सम्बन्धित खबरहरु