गाजाबाट चार जना बन्धकलाई सकुशल रिहा

ओकेखबर संवाददाता २७ जेष्ठ २०८१, आईतवार १२:२७ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

काठमाडौं । इजरायली सुरक्षा फौजले गाजाबाट चार जना बन्धकको उद्वार गरेको जनाएको छ । अक्टोबर ७ मा इजरायलमा प्यालेस्टिनी बिद्रोही समूह हमासले आक्रमण गर्दा बन्धक बनाएकामध्ये चार जनाको सकुशल उद्वार गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विशेष अभियानमार्फत २१, २५, २७ र ४० वर्षका गरी चार जना इजरायली नागरिकलाई मध्य गाजाको छुट्टाछुट्टै ठाउँबाट मुक्त गराएर स्वदेश फर्काएको सेनाले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले पनि बन्धक मुक्त भएका स्वीकार गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर इजरायलको यस अभियानमा बालबालिकासहित कैयौंको ज्यान गएको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान जानुको साथै दुई सय ५१ जनालाई हमासले बन्धक बनाएको थियो । इजरायली सेनाका अनुसार हमासले अझै पनि एक सय १६ जनालाई बन्धक बनाएर राखेको छ ।

४१ जना बन्धकको ज्यान गइसकेको छ । हमासको आक्रमणपछि इजरायलले गरेको प्रत्याक्रमणमा गाजामा ३६ हजार चार सय ७० जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ ।


सम्बन्धित खबरहरु