कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै, यि हुन् मुख्य एजेण्डा

ओकेखबर संवाददाता ८ जेष्ठ २०८१, मंगलवार ०६:५८ मा प्रकाशित ( हफ्ता अघि) ३६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।

नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले संसद्‌मा उठाएको मुद्दालाई सडकमा लैजान संयुक्त बैठकको माग गर्दै आएका थिए । सरकारमा रहेका श्वेत अपराधीलाई कानुनको सिंकन्जामा ल्याउन संसद्‌को सङ्घर्षबाट मात्र नपुगेको भन्दै संयुक्त बैठकबाट सडक सङ्घर्षमा जानुपर्ने बताए ।

‘अब जनताको सहभागिता सहितको सङ्घर्ष आवश्यक छ । यसका लागि संयुक्त बैठकले बृहत् विमर्श मन्थनका साथ प्रभावकारी खबरदारी सङ्घर्षमा जानुपर्छ,’ उनले भने ।


सम्बन्धित खबरहरु