अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्यारोपण

ओकेखबर संवाददाता १३ बैशाख २०८१, बिहीबार १८:४५ मा प्रकाशित ( हफ्ता अघि) ३० पाठक संख्या

संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गाैला प्रत्यारोपण गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

न्युयोर्कको एनवाईयू ल्याङ्गाेन हेल्थ सेन्टरमा ५४ वर्षीया लिसा पिसानो नाम गरेक महिलामा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको हो । ती महिला हृदयघात र अन्तिम चरणको मिर्गाैला रोगबाट पीडित रहेको र उनलाई केही दिनमात्रै जीवित राख्न सकिएको डाक्टरहरूले बताएका छन् ।

डाक्टरहरूले मिर्गाैला प्रत्यारोपणअघि हृदयघातको उपचार स्वरूप मेकानिकल पम्प दिएका थिए । यस्तो जटिल अवस्थाको बिरामीमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको डाक्टरहरूको दाबी छ । सुँगुरको मिर्गाैला सिधै मानवमा प्रत्यारोपण नहुने भएकाले डाक्टरहरूले शुरुमा सुँगुरको मिर्गाैलामा एउटा ग्रन्थि प्रत्यारोपण गरेपछि मात्रै मानिसमा प्रत्यारोपण गर्न मिल्छ ।

प्रमुख सर्जन डा. रोबर्ट मन्टगोमेरीले जीवन बचाउने अङ्गहरू जनावरबाट मानिसमा प्रत्यारोपण गर्न सक्नु निकै ठूलो उपलब्धि भएको बताउनुभएको छ । पछिल्लो प्रत्यारोपणले मिर्गाैला असफल भएर कोही पनि अकालमा मर्नु पर्दैन भन्ने सम्भावनालाई नजिक ल्याएको उहाँको भनाइ छ ।

गएको मार्च महिनामा पहिलो पटक अमेरिकामै एक जीवित बिरामीमा सुँगुरको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यसअघि अघिल्लो वर्ष नै आनुवंशिक रूपले परिमार्जित सुँगुरको मुटु मेरिल्यान्ड विश्वविद्यालयका दुई जना बिरामीमा प्रत्यारोपण गरिएको थियो तर दुवै जना दुई महिनाभन्दा कम समय बाँचेका थिए ।


सम्बन्धित खबरहरु