विद्यार्थी घटेपछि दुई विद्यालय बन्द, ३१ विद्यालयको तह घटाइयो

ओकेखबर संवाददाता ९ बैशाख २०८१, आईतवार ०९:०२ मा प्रकाशित ( हफ्ता अघि) ३४ पाठक संख्या

गलकोट । विद्यार्थी सङ्ख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको छ ।

विद्यार्थी अभाव झेल्दै आएका प्राथमिक विद्यालय र आधारभूत विद्यालयमा तह घटाइएको छ भने दुई विद्यालय तत्कालका लागि बन्द गरिएको छ । बन्द हुने विद्यालयमा बागलुङ नगरपालिका–९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि छन् ।

विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बागलुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले दुई वर्षसम्म गरेको विद्यालयको अध्ययनअनुसार विद्यालय तह मिलान कार्यविधिअन्तर्गत रही तह मिलान गरिएको श्रेष्ठको भनाइ छ । “१३औँ नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो”, नगरप्रमुख श्रेष्ठले भने, “तह घटाउँदा एक घण्टा हिँड्नुपर्ने अवस्थाका विद्यालयलाई असर पारिएको छैन, न्यून विद्यार्थी भई घर नजिकै वैकल्पिक विद्यालय भएका विद्यालय छनोट गरेर तह घटाइएको छ, तह घटाउँदा धेरै हुन आएका शिक्षकलाई विद्यार्थी सङ्ख्याको अनुपातमा दरबन्दी मिलान गरिन्छ ।”

तह घटाइएपछि बालविकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बालविकास केन्द्र र कक्षा एकमात्र सञ्चालन हुने विद्यालय ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्म सञ्चालन हुने छ ।

नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अङ्ग्रेजीमा पठनपाठन गराउनेगरी तह मिलान गर्न थालेको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काका अनुसार जनसङ्ख्या बढ्दा आवश्यकता देखिएर समुदायस्तरको पहलमा खोलिएका विद्यालयमा क्रमशः घट्दो जनसङ्ख्या, बसाइँसराइ, संस्थागत विद्यालयमा आकर्षणजस्ता कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या अपुग हुन थालेपछि विद्यालय घटाउन थालिएको हो । नगरपालिकाले टाढाका विद्यार्थीलाई आवासीयसहितको विद्यालय बनाउने र गुणस्तरी शिक्षामा जोड दिनका लागि एकीकृत विद्यालयको अवधारणा ल्याइएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिए।

 


सम्बन्धित खबरहरु