गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागी : ७० वटाभन्दा धेरै घरगोठ जले

ओकेखबर संवाददाता ९ बैशाख २०८१, आईतवार ०८:५३ मा प्रकाशित ( हफ्ता अघि) १७ पाठक संख्या

काठमाण्डौ – गुल्मी, अर्घाखाँची, नवलपरासीलगायतका जिल्लामा आगलागीका कारण ठूलो क्षति भएको छ । ती क्षेत्रमा ७० भन्दा धेरै घरगोठ जलेका छन् ।

गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट झन्डै ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागीले क्षति गरेको हो । आगलागीमा परेर दुईजना घाइते भएका छन् । इस्मा–१ का हिमाल राना र मुसिकोट नगरपालिका–७ का प्रेम राना घाइते भएको र दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिनुभयो । जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि घर र गोठ जलेको प्रहरीले भनाई छ । डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगोले क्षति गरेको छ । भुमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाडा, बाजाखर्कलगायतका गाउँमा गरी झन्डै २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले बताउनुभयो । आगोले गाउँनै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताउनुभयो । क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।

त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दन गाउँपालिका–६ पडरीमा अस्ति शुक्रवार भएको आगलागीमा १४ जनाको घरगोठ जलेको थियो । त्यहाँ हिजो फेरि आगो फैलिएको थियो । विभिन्न ठाउँमा लागेको धेरैजसो आगो नियन्त्रणमा लिएको र क्षतिको विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।


सम्बन्धित खबरहरु