नेसनल पेमेन्ट गेटवे प्रकरण : सुनिल पौडेल दोषी ठहर

ओकेखबर संवाददाता ८ बैशाख २०८१, शनिबार ०६:५१ मा प्रकाशित ( हफ्ता अघि) १९ पाठक संख्या

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन उपनिर्देशक एवं कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले दोषी ठहर गरेको छ । नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार भएको भन्दै अदालतले शुक्रबार दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गरेको हो । उनको सजाय निर्धारणको लागि वैशाख २५ गतेका लागि पेसी तोकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा नेसनल पेमेन्ट गेटवेको खरिदमा भ्रष्टाचार गरेको आरोपमा दुई सचिवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पौडेलबाहेक सञ्जय शर्मा, प्रणिता उपाध्यय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर वली, रामशरण गायक, सफल श्रेष्ठ र मधुकुमार मरासिनीले सफाइ पाएका हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) अन्तर्गत खरिद भएको पेमेन्ट गेटवेमा संलग्नहरूमाथि अख्तियारले २४ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।


सम्बन्धित खबरहरु