सत्ता गठबन्धन दलहरूबीच विश्वासको संकट

ओकेखबर संवाददाता ७ बैशाख २०८१, शुक्रबार ०८:१९ मा प्रकाशित ( हफ्ता अघि) ८१ पाठक संख्या

काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच विश्वासको संकट देखिएको छ। नेकपा एमालेसहितको गठबन्धनमा आबद्ध दलहरूले भागबन्डा मिलाउने क्रममा एकअर्कालाई विश्वास गर्न सकिरहेका छैनन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेपछि एमाले थप सशंकित हुँदै सुदुूरपश्चिम प्रदेशको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ।

काठमाडौं गोल्फुटारस्थित डा. नारायण खड्को घरमा माधव नेपालले बुधबार साँझ देउवालाई भेटेर वैकल्पिक गठबन्धन र सुदूरपश्चिम सरकार निर्माणबारे छलफल गरेका थिए। तर एमालेसँगको छलफललाई उनले सरोकारै राखेनन्। त्यसकारण एमालेले अहिले नै सुदूरपश्चिम सरकारमा सहभागी नहुने जनाएको हो। एमालेले बिहीबार मुख्यमन्त्रीमा नियुक्त दीर्घ सोडारीको विकल्प खोज्न आग्रह गरेको थियो। तर नेकपा एस सचिवालय बैठकमार्फत सोडारीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री प्रस्ताव गरेर अध्यक्ष नेपाल देउवालाई भेट्न गएपछि एमाले चिढिएको थियो।

२०७५ कात्तिकमा तत्कालीन सामाजिक विकासमन्त्री सोडारीले महिलासँग अश्लील संवाद गरेको आरोपमा पद गुमाएका थिए। उनलाई एमालेले पनि कारबाही गरेको थियो। सोही कारणले उनलाई अहिले मुख्यमन्त्रीमा अस्वीकार गर्दै एमालेले विकल्प दिन आग्रह गरे पनि नेकपा एसको सचिवालय बैठकबाट उनलाई नै मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो।

एमालेले अप्ठेरो मान्दै समर्थन त ग¥यो तर तत्काल सरकारमा नजाने निर्णय लियो। यसबाट गठबन्धनमा अविश्वासको दुरी बढ्दै गएको आकलन छ। एमाले अध्यक्ष केपी शर्मा ओली नै रहेका बेला महिलासँग अश्लील बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई २०७५ कात्तिकमा बर्खास्त गरिएको थियो। उनीविरुद्ध पार्टीमा समेत आर्थिक तथा चारित्रिक विषयमा गम्भीर उजुरी परेपछि तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका थिए।

‘ओली सरकारकै पालामा बर्खास्तमा परेका कारण एमालेले उनलाई मुख्यमन्त्रीमा अस्वीकार गरेको हो। यो विषयले केन्द्रमा दुरी बढेको स्पष्ट हो,’ एमालेका एक पदाधिकारीले भने। सुदूरपश्चिम सरकारको विषयमा गडबडी उत्पन्न भएपछि एमाले अध्यक्ष ओली बिहीबार सिधै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए।

उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। उनीहरू कुराकानी गरिरहेकै बेला उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पनि सहभागी भएका थिए। कुराकानी गरेर बाहिरिने क्रममा लामिछानेले गठबन्धनमा कुनै पनि समस्या नभएको बताएका थिए।


सम्बन्धित खबरहरु