काठमाण्डौ महानगरका १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ शुरु

ओकेखबर संवाददाता २९ चैत्र २०८०, बिहीबार १९:१० मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ शुरु गरेको छ । महानगरको सामाजिक विकास विभागले राष्ट्रिय सभा गृहमा औपचारिक समारोह आयोजना गरेर वडाको उत्पादन सार्वजनिक गर्दै कार्यक्रम थालनी गरेको हो ।

कार्यक्रममा महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले गुणस्तरीय स्वदेशी उत्पादनले आयात विस्थापन गर्दै लैजान सानासाना उद्यम विकास कार्यक्रम थालिएको जानकारी दिनुभयो । यस वर्षका लागि उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि महानगरले एक करोड रुपैयाँ विनियोजन गरेको छ । वडाहरूले स्थानीय उद्यमीको रुचि, यसअघि भइरहेका अभ्यास, कच्चा पदार्थको उपलब्धताजस्ता आधारमा विभिन्न उत्पादन छानेका छन् ।

विभागकाअनुसार अहिले १५ वटा वडाका लागि एक/एक वटा उद्यम छानिएका छन् । वडा नम्बर १ र ३० मा गुन्द्रुक र मस्यौरा, वडा–२ मा मस्यौरा र तितौरा, वडा–३ र ४ मा फेल्टको सामान, वडा–७ मा क्रिस्टल तथा पोतेको गहना, वडा–८ मा दुनाटपरी र रुद्राक्षको ढक्कीे, वडा–९ मा रुद्राक्षको माला र धुप बनाउने, वडा–१० मा मस्यौरा र अचार बनाउने उद्यम छानिएका छन् ।

यसैगरी वडा–१२ मा सुकुल, वडा–१६ मा काष्ठकला, वडा–२१ मा कटाँकी मूर्ति कुँद्ने, वडा–२२ मा जुत्ता बनाउने, वडा–२४ मा झोला बनाउने र वडा–३२ अचार बनाउने उद्यम छानिएका छन् । ‘एक वडा एक उद्यम, आफ्नै सीप आफ्नै मौलिकपन, आत्मनिर्भर उद्यमी बन्न, हाम्रै लगानी हाम्रै श्रम’ भन्ने नारा राखेर कार्यक्रम चलाउन थालेको हो ।


सम्बन्धित खबरहरु