बिस्का जात्रा : भैरवनाथको रथ तान्दा भाँचियो, आंशिक रुपमा मर्मत गरेर फेरि तान्ने तयारी

ओकेखबर संवाददाता २९ चैत्र २०८०, बिहीबार ०९:४७ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

भक्तपुर – भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरमा रहेको टौमढीबाट तान्न शुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि तान्न शुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो । फर्काउँदा रथ हिजो बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्‍याएको थियो ।

मङ्गलवार राति नै रथलाई गःहिटी पुर्‍याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि हिजो फेरि रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । उहाँका अनुसार रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको छ ।

विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई हिजो दिउँसो ३ बजेसम्म पनि गःपिहटी पुर्‍याउन सकिएन । रथमा धेरै क्षति पुगेकाले मर्मत भईरहेको छ । रथलाई पूरै बनाउन अझै एक हप्ता समय लाग्ने छ ।

रथ जसरी पनि गःहिटी पुर्‍याएर पूजा गर्ने तथा भोलि ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्‍याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिनुभयो । वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ ।

जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले बताउनुभयो ।


सम्बन्धित खबरहरु