हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक

ओकेखबर संवाददाता २५ चैत्र २०८०, आईतवार १९:५० मा प्रकाशित ( हफ्ता अघि) ४१ पाठक संख्या

हुम्ला – हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएकाे रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो ।

सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण लिमीको सुनखानी विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको राेकायाले जानकारी दिनुभयाे । यस्तै ज्ञानु पुस्तक पसलले पनि सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने काम पूरा भएको जनाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले हुम्लाका २१ हजार ६८ जना विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको जानकारी दिनुभयो । हातहातमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको छ ।

विगतमा पढाइ शुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपुगेर समस्या हुने गरेकोमा अहिले देशभर नै समयमा पुस्तक पुगिसकेका छन् । केही सुगम जिल्लामा अहिले धमाधम पुस्तक पठाउने काम भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।


सम्बन्धित खबरहरु