पाठ्यपुस्तक समयमै पुग्न थालेपछि विद्यार्थी राम्रो अङ्कसहित पास हुन थाले

ओकेखबर संवाददाता २५ चैत्र २०८०, आईतवार १९:४७ मा प्रकाशित ( हफ्ता अघि) २३ पाठक संख्या

बझाङ – पाठ्यपुस्तक समयमै पुग्न थालेपछि बझाङको केदारस्युँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी राम्रो अङ्कमा पास हुन थालेका छन् ।

विगतमा मुस्किलले पास हुने जनचेतना आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत अङ्किता दमाईले यस पटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल हुनुभएको छ । गएको वर्ष कक्षा ५ मा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि बहिनीको पढ्ने बानी विकास भएको र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको अङ्किताकी दिदी सिर्जनाले बताउनुभयो ।

बित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहराले विगतका कक्षामा किताब नभएको भन्दै शिक्षकले पढाउन हेलचेक्र्याइँ गर्ने गरेका र आधा किताब नसकिँदै वार्षिक परीक्षा हुने गरेको सुनाउनुभयो । तर पाठ्यपुस्तक समयमै आउन थालेपछि अहिले सबै पढाइ हुने र विद्यार्थी पनि राम्रो नम्बर ल्याएर पास हुने थालेका उहाँले बताउनुभयो ।

शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण भएकाले नतिजा सुधारोन्मुख भएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङको भनाइ छ । गएको शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हातहातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन् ।


सम्बन्धित खबरहरु