८ महिनामा काठमाण्डाै उपत्यकाबाट १ हजार ८ सय ४७ वटा माेटरसाइकल चाेरी

ओकेखबर संवाददाता २२ चैत्र २०८०, बिहीबार २०:५७ मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म आठ महिनामा काठमाण्डौ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएका प्रहरीले जनाएको छ । तीमध्ये तीन सय ७४ वटा मोटरसाइकल फेला परेको र फेला परेकामध्ये दुई सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालकाअनुसार २४ वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । उहाँले बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा रहेकाे बताउनुभयाे । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको उहाँकाे भनाइ छ ।

केन्द्रीय प्रहरी प्रवक्ता ढकालले चोरी हुनबाट बच्न ह्वीललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुने र सम्भव भएसम्म जीपीएस ट्र्याकरलगायतका उपकरणको जडान गरेर सुरक्षा गर्न सकिने बताउनुभयो । धेरैजसो बेलुका र रातको समयमा मोटरसाइकल चोरी हुने गरेका निवेदन आउने गरेको प्रहरीको भनाइ छ ।


सम्बन्धित खबरहरु