बालेनविरुद्ध स्टाटस लेख्ने महानगरका कर्मचारीलाई साइबर अपराधको मुद्दा

ओकेखबर संवाददाता २२ चैत्र २०८०, बिहीबार ०८:३८ मा प्रकाशित ( हफ्ता अघि) १४ पाठक संख्या

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आक्षेप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै कर्मचारीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको छ । हाल निलम्बनमा रहेका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

करारका कर्मचारी नियुक्तिमा किर्ते गरेको भन्दै पौडेललगायतका कर्मचारीलाई मेयर साहले निलम्बन गरेका थिए । सो प्रकरणपछि पौडेलले फेसबुकमा मेयरविरुद्ध स्टाटस लेखेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो । पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका एक सय ६६ जना र निजहरूले दुई वर्षमा खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ भनेर लेखेका थिए । स्टाटसले महानगरपालिकाविरुद्ध द्वेष फैलाएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।

अभियोगपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा मेयर तथा कर्मचारीलगायत सिंगो महानगरपालिकाप्रति नैतिकता र शिष्टचारविरुद्धका सामग्री घृणा वा द्वेष फैलाउने उद्देश्यले महानगरपालिका र समुदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने गरी तथ्यहीन, गलत तथा भ्रामक स्टाटस लेखी महानगरपालिकाको गरिमा तथा छविमा आँच आउने पोस्ट गरी विद्युतीय कारोबारको कसुर गरेको वारदात स्थापित हुन आयो ।’ प्रहरीसँगको बयानमा पौडेलले आवेगमा आएर स्टाटल लेखेको र महानगरपालिकाविरुद्ध घृणा फैलाउने आफ्नो उद्देश्य नरहेको बताएका छन् ।


सम्बन्धित खबरहरु