कतारका राजा नेपाल आउँदै छन्, खेल क्षेत्रमा ऐतिहासिक सम्झौता गर्छु : प्रधानमन्त्री

ओकेखबर संवाददाता २१ चैत्र २०८०, बुधबार १९:१४ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए । उनले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गरे ।

उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएको बताए । उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।

उनले भने, ‘नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र हो । यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरू समाधान भएका छन् । ठूलाठूला द्वन्द्व र नरसंहारहरू खेलकै कारणले टरेका पनि छन् । खेलकुद गतिविधिमार्फत आपसी सहकार्य, विश्वास, विश्व भ्रातृत्व, पुनः मिलनका आधारहरु खडा भएको छन् । कयौँ देशहरूको एकतामा खेलले महत्त्वपूर्ण भुमिका खेलिरहेको छ । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढिकरण, कुटनीतिक सन्तुलन, सहकार्य एवं देशको बहुआयामिक विकासका निम्ति यस क्षेत्रको भुमिका निर्णायक रहँदै आएको छ । मैले आफ्नो कार्यकालमा खेलकुद, साहित्य, कला र संगीतको क्षेत्रलाई उच्च महत्त्व दिएको छु । तसर्थ नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरू प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ । खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु । खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्छ भन्ने पक्षमा म छु । केही अघि पनि बढाइसकेको छु । बाँकी छ भन्ने सुने मैले बाँकी तुरुन्तै निकासा गरिन्छ ।’

प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र—क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गरे । उनले सम्झौता ऐतिहासिक हुने बताए ।


सम्बन्धित खबरहरु