त्रिभुवन विमानस्थलको भिआइपी कक्ष प्रयोग नगर्न गृहका अधिकारीलाई गृहमन्त्रीको आग्रह

ओकेखबर संवाददाता २१ चैत्र २०८०, बुधबार ०८:२३ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौँ । गृह मन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलको भिआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह गरेका छन् ।नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्न सुझाएका गृह मन्त्री लामिछानेले छलफलमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भिआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरूको आगमन र प्रस्थान व्यवस्थित गर्न अत्यावश्यक रहेको औँल्याएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा सरोकारवालाबिचको छलफल कार्यक्रममा बोल्दै गृह मन्त्री लामिछानेले सो कुरा बताएका हुन् । विमानस्थलबाट बाहिरिएको करिब ६१ केजी सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि भन्दै पूर्वमुख्य सचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदाश वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो ।

भिआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको भन्दै नागरिकले असहजता व्यहोरि रहँदा आफूहरूले त्यस्तो सुविधा प्रयोग गर्न नसुहाउने मन्त्री लामिछानेको भनाई थियो । पछिल्लो समय भिआइपी सुविधाका नाममा दलबलसहित जाने परम्परासमेत बढ्दै गएको छ ।गृह मन्त्री लामिछानेले प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिँदै विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्न र एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरेका छन् ।

सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्न जोड दिएका गृहमन्त्री लामिछानेले तत्कालै परिवर्तनको अनुभूति गर्ने गरी नागरिकलाई सुरक्षा र सेवा दिनसमेत निर्देशन दिएका छन् । ‘नागरिकलाई सेवा दिने, अन्तर्राष्ट्रिय पहिचान स्थापित हुने र सुरक्षाजस्तो संवेदनशील विषयमा बजेटको अभाव छ भनेर नपन्छिनुस्’ गृहमन्त्री लामिछानेले भने ‘एकातिर भएको बजेट खर्च गर्न नसक्ने र अर्कातिर बजेट नै छैन भन्ने नियमित काम पनि सार्ने दोहोरो प्रवृत्ति पनि नदेखाउनुस्’


सम्बन्धित खबरहरु