पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकासमन्त्री कमलप्रसाद जवेगुले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए ।
प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विकास गरिने मन्त्री खत्रीले बताए । केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थमन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उनको भनाइ छ ।
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताए । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पु¥याउन सहज हुने बताए ।
प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ ।