नागरिक उन्मुक्तिमा चर्कियाे विवाद, दुई समूहबीच बैठकमै कुटाकुट

ओकेखबर संवाददाता १९ चैत्र २०८०, सोमबार १७:३८ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

धनगढी । संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीचको विवाद नागरिक उन्मुक्ति पार्टीमा उग्र रुप लिएको छ। खासगरी फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई लिएर चर्किएको विवादले सोमबार उग्र रुप लियो।

सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ। सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवादले बैठकमा कुटाकुटको अवस्था ल्याएको हो।

आइतबार अनामनगरमा बसेको उक्त बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ। कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन्।

अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगेका बेला दुई पक्षबीच कुटाकुट भएको हो। पार्टी केन्द्रीय कार्यालय अनामनगरमा कुटाकुट हुनुअघि दुई पक्षबीच सुदूरपश्चिम सरकारमा सहभागी हुने र नहुने विषयमा चर्को विवाद भएको थियो।

रञ्जिता पक्ष संघीय सरकारमा सहभागी हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरी नयाँ गठबन्धनमा मिसिने पक्षमा उभिएको छ। उता रेशमलाल भने संघमा प्रतिपक्षमा बस्दै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारालई निरन्तरता दिनुपर्ने अडानमा छ।

यस्तोमा अनामनगरमा बसेको बैठकका क्रममा रञ्जिता पक्षका दुई नेता कुटिएका हुन्। कुटपिट भएपछि रञ्जिता पक्षले बैठकस्थल नै छाडेर हिँडेको छ।


सम्बन्धित खबरहरु