महराले राजीनामा दिए–नदिएको सम्बन्धमा पार्टीलाई जानकारी छैन : महासचिव गुरुङ

ओकेखबर संवाददाता ८ चैत्र २०८०, बिहीबार १८:३४ मा प्रकाशित ( महिना अघि) ३२ पाठक संख्या

काठमाडौँ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सुन तस्करीमा संलग्न भएको आरोप लागेका उपाध्यक्ष कृष्णबहादुर महराले राजीनामा दिए–नदिएको सम्बन्धमा पार्टीलाई जानकारी नभएको बताएका छन् । बिहीबार उनले महराको राजीनामा सम्बन्धमा अनभिज्ञता प्रकट गरेका हुन् ।

‘उहाँले राजीनामा दिएको वा नदिएको बारे पार्टीमा जानकारी आएको छैन । पार्टी अध्यक्षलाई दिनुभएको भए थाहा भएन’, उनले भने । महराको विषयमा पार्टीले पछि निर्णय गर्ने उनले बताए । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि महराले राजीनामा दिएको वा नदिएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

‘प्रधानमन्त्रीलाई बुझाउनु भएको भए थाहा भएन । यसबारे मलाई केही जानकारी छैन’, आचार्यले भने । फागुन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा महरालाई पार्टीले आवश्यक कारबाही गर्नुपर्ने अधिकांशले माग गरे पनि कुनै निर्णय भएको थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वविवेकले राजीनामा दिने कि निलम्बन गर्ने विषयमा महराको जवाफ मागेका थिए । राजीनामा दिने विषयमा एक घण्टामा जानकारी गराउने बताएका थिए । तर यस विषयमा पार्टी र प्रधानमन्त्रीका सचिवालय दुवैले अनभिज्ञता प्रकट गरेका छन् ।

महराको जवाफ आएपछि अर्को बैठकले उनीमाथि थप कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । तर यस विषयमा निर्णय लिन पदाधिकारी बैठक बस्ने विषयमा पनि महासचिव गुरुङले अनभिज्ञता व्यक्त गरे ।


सम्बन्धित खबरहरु