कसले लुकायो जिबी राईलाई ?

ओकेखबर संवाददाता ८ चैत्र २०८०, बिहीबार १८:३२ मा प्रकाशित ( हफ्ता अघि) १३ पाठक संख्या

काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले संस्थाका संचालक जिबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र दिँदै आफूहरूको वचत रकम फिर्ताको पहल गरिदिन पनि आग्रह गरेको हो ।

‘जिबी राई भन्ने नाम र सूर्यदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीका साथै सिङ्गो राष्ट्रको प्रहरी प्रशासनको टाउको दुखाइ बनिहरहँदा पनि बाँकी अभियुक्तहरू किन पक्राउ पर्दैनन् ? यसलाई हामीले कसरी यो राज्य व्यवस्थाको सही सुशासन भन्ने हो ?’ निवेदनमा भनिएको छ, ‘कसले किन लुकाईराखेका छन् जिबि राईलाई हामीलाई जवाफ चाहिएको छ। जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनुपर्‍यो ।’

उनीहरूले आफूहरूको समस्या कहिले समाधान हुन्छ भनेर मिति तोकिदिन पनि माग गरेका छन् । सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै श्रेष्ठले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन्
। सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै २०८० साल माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानबिन नभएको बताइएको छ । सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बसेको भन्दै उनीहरुले आफूहरूले न्याय पाउनुपर्ने बताएका छन् ।

पीडितहरुको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राज्यले पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताए । उनले सकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे। गृहमन्त्री रवि लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैँ सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने खतिवडाको भनाइ छ।


सम्बन्धित खबरहरु