दरबारमार्ग र ठमेल बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन गृहमन्त्रीको निर्देशन

ओकेखबर संवाददाता ७ चैत्र २०८०, बुधबार २१:०९ मा प्रकाशित ( महिना अघि) ९९ पाठक संख्या

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन निर्देशन दिएका छन् ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् । जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ ।

‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष  भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।


सम्बन्धित खबरहरु