राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

ओकेखबर संवाददाता ६ चैत्र २०८०, मंगलवार ०९:१२ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । वरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ ।

चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको स्रोतले बतायो । ‘राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको छ,’ स्रोतले पुष्टि गर्यो ।

पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो । आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएका थिए ।

आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए । ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो ।

छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको हो । राष्ट्र बैंकको टक्सार महाशाखामा कार्यरत आचार्यमाथि आरोप लागेसँगै उनलाई जिम्मेवारीविहीन बनाइएको थियो ।


सम्बन्धित खबरहरु