धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की ?

ओकेखबर संवाददाता ६ चैत्र २०८०, मंगलवार ०९:०९ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् ।

मेयर हमाललाई आइतबार राती ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । ज्यान मार्ने धम्कीपछि मेयर हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मेयर हमालले निवेदन दिएको बताए । उनले सो निवेदन जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको बताए ।

मेयरलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले बताए। ‘धम्की दिने व्यक्ति धनगढी वडा नम्बर ६ मटियारीको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’, प्रमुख विष्टले भने, ‘उसले मेयर सापलाई खबरदार भन्ने म्यासेज लेखेको रहेछ ।’

प्रहरीका अनुसार रानाले आफु लम्की पुगेको र आजै सोमबार प्रहरीमा आउने बताएका छन् । प्रहरी प्रमुख विष्टले भने, ‘रानाले लिन आउनु पर्दैन भने पनि हामीले उच्च निगरानीमा राखेर सुरक्षा प्रबन्ध गरेका छौँ ।’ धम्की दिनुको कारण भने खुलेको छैन् । धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी एक्सनमै रहेको बताइएको छ ।


सम्बन्धित खबरहरु