मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा छ : विनोद चौधरी

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार १९:३० मा प्रकाशित ( महिना अघि) २५ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा गुज्रिरहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र आन्तरिक र वाह्य लगानी समेतमा संकुचन आएको भन्दै आर्थिक मन्दीले निरासा छाउँदा प्रतिफल प्राप्त हुने विश्वास निजी क्षेत्रले गुमाएको दाबी गरे ।

सांसद चौधरीले अल्पविकसित गरिबी,बेरोजगारी,परिनिर्भता,असमानता मुलुकको अर्थतन्त्रका क्रोनिक समस्या बनेको जिकिर गरे ।

उनले अर्थतन्त्रको वाह्य क्षेत्रले राम्रो गरिरहेको भए पनि सरकारले गर्नुपर्ने काम विकास खर्च, राजश्व संकलन , लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र शिक्षा स्वास्थ्य जस्ता सामाजिक सेवामा निरासाजनक अवस्था रहेको बताए ।

उनले युवाहरु विदेश जाने क्रममा वृद्धि हुँदा बजारको समग्र माग समेत घटाएको बताए । सांसद चौधरीले बैंकको ब्याजदर केही मात्रामा घटे पनि कर्जा प्रवाह अवरुद्ध हुँदा बैंकहरुमा तरलता थुप्रिएर बसेको उल्लेख गरे ।

सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीको दायित्व उच्च बन्दै गएको उनको भनाई छ । निर्यात भन्दा आयात १३ गुणा बढी भएको भन्दै सांसद चौधरीले चालु खर्चको वृद्धि उच्च र पुँजीगत खर्च न्युन बन्दै गएको सांसद चौधरीले बताए ।


सम्बन्धित खबरहरु