जनमतले किन फिर्ता बोलायो सांसद सापकोटालाई ?

ओकेखबर संवाददाता ५ चैत्र २०८०, सोमबार ०९:०३ मा प्रकाशित ( महिना अघि) ४३ पाठक संख्या

काठमाडाैं । जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई फिर्ता बोलाएको छ । सापकोटाले पार्टी हितविपरीत काम गरेको भन्दै १४ फागुनमा फिर्ता बोलाउने निर्णय गरेर जनमत संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सापकोटालाई सांसदबाट फिर्ता बोलाउने निर्णय भएकाले पदमुक्त गरी सभामा जानकारी गराउन अनुरोध गर्दै आएको पत्रका सम्बन्धमा सभामुख देवराज घिमिरे अध्ययनमा छन् ।

जनमत पार्टीका प्रवक्ता शरद यादवले पार्टीको हितविपरीत काम गरेकाले सापकोटालाई अनुशासन समितिले कारबाही गरेर सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेको बताए । कारबाहीका लागि संसद् सचिवालयमा पत्राचार गरिएको उनको भनाइ छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सापकोटालाई फिर्ता बोलाएको पत्र प्राप्त भएको र सभामुखले अध्ययन गरेर निर्णय लिने बताए ।

महात्तरीको मडै निवासी सापकोटालाई जनमतले ४ मंसिर ०७९ को निर्वाचनमा समानुपातिकतर्फ खसआर्य महिला कोटामा सांसद बनाएको थियो । पार्टीको निर्णयका आधारमा सभामुखबाट सापकोटा पदमुक्त भएमा उनको ठाउँमा खसआर्य महिला कोटाबाट काठमाडौंकी नीता नेपाल (घिमिरे) समानुपातिक सांसद बन्नेछिन् । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सापकोटापछि घिमिरेको नाम छ ।

सांसद सापकोटाले स्वकीय सचिव नियुक्तिको विवादमा आफूलाई पार्टीले कारबाही गरेर अन्याय गरेको प्रतिक्रिया दिइन् । ‘पार्टीले एउटा स्वकीय सचिव राख्न भन्यो । मैले आफूलाई सहयोगी हुने खालको राखेँ । त्यसपछि एकैपटक कारबाही गरियो । कारबाहीको चिठी पठाएको जानकारी थिएन । आइतबार सभामुखलाई भेटेर जानकारी लिएँ,’ उनले भनिन् । पार्टीले आफ्नो विचार नसोधी, पार्टीमा छलफल नगराई एकलौटी निर्णय लिएकोमा उनले आपत्ति जनाएकी छिन् । ‘मैले नगरेको कुरालाई गल्ती ग¥यो भनेको छ, म यसको विरोध गर्छु । अब के गर्ने भन्ने सल्लाहमा छु,’ उनले भनिन् । तर, जनमत पार्टीका प्रवक्ता यादवले भने सापकोटालाई स्पष्टीकरणको मौका दिएर, अध्यक्षसँग छलफल गरेर नै निर्णयमा पुगेको दाबी गरे ।

सापकोटाका अनुसार स्वकीय सचिवको विवाद वैशाखदेखि सुरु भएको हो । अरू सांसद जस्तै आफ्नो स्वकीय सचिव उनले आफैँ राखिन् । सुनिलकुमार झालाई स्वकीय सचिव राखेपछि पार्टीले आपत्ति जनायो । पार्टीले भनेकोलाई स्वकीय सचिव राख्नुपर्ने विषयलाई सापकोटाले वास्ता गरिनन् ।


सम्बन्धित खबरहरु