भोजपुर आगलागीमा परी तीन बालबालिकाको मृत्यु

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार २०:२० मा प्रकाशित ( महिना अघि) १०७ पाठक संख्या

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नम्बर ७ पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । आगलागीमा परी एक बालिका र दुई बालकको मृत्यु भएको हो ।

आगलागीबाट स्थानीय ​रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा कार्की, ३ वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका जनाएको छ । ती बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको डिएसपी सुदिप राज पाठकले जानकारी दिए ।

आजै मात्र भोजपुरमा तीन ठाउँमा आगलागीका घटना भएको डिएसपी पाठकले बताए । उनका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन । यद्यपि केही दिनदेखि भोजपुरमा दिउँसो हावाको चाप बढ्ने भएकाले यही कारण पनि हुन सक्ने आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी पाठकले जानकारी दिए ।


सम्बन्धित खबरहरु