दुबईको पार्लरमा काम लगाइदिन्छु भन्दै युवतीलाई कुवेत पुर्‍याएर बेचबिखन

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १८:०७ मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं । दुबईको पार्लरमा आकर्षक तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेशबहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टोखा नगरपालिका-५ बाट पक्राउ गरेको छ । कटुवालले नेपालमा ब्यूटी पार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिसा टिकट लगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिएको, दुबई पठाइदिने भनी झुक्याई कुवेत पुर्‍याई बन्धक बनाएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

कुवेतमा पुगेपश्चात् एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानीसमेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

 


सम्बन्धित खबरहरु