कांग्रेस र एमाले मिलौं, संसदलाई बन्धक बनाउँदैनौं : रामहरी खतिवडा

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १६:५२ मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए । उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि काँग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले भने ‘अहिले संसदमा अलिकति खच्याकखुचुक भएको तपाईहरुले देख्नुभएको छ । संसदीय व्यवस्था हो । कहिले माननीय मन्त्रीजीहरुले हिजो,अस्तीसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौं । तर हामी यति प्रतिवद्धता जाहेर गर्न चाहन्छौं–हामी संसदलाई बन्धक बनाएर जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन । एउटा संसदीय पद्धति अनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं । अझ म त अनुरोध गर्न चाहन्छु–हामी अलि अपm्ठयारो अवस्थामा छौं । हाम्रो संसदीय पद्धति अनुसार हामी समानुपातिक समावेशी कुरा गरेर हिँडेका छौं । समानुपातिक पद्धति आवश्यक छ । सबै जात, वर्ग, सम्प्रदायलाई उच्च ठाउँमा पु¥याउनुपर्नेछ । तर हाम्रो मानसिकता के भएको छ भने समानुपातिकमा नीतिको होइन, नेताको । नेताको छोडेर नाताको, नाताको छोडेर दाताको ल्याउने प्रवृत्ति छ । यसलाई अन्त्य गर्नुपर्छ भन्ने भनाई म राख्न चाहन्छु । म काँग्रेसको एउटा कार्यकर्ता केन्द्रिय सदस्य पनि हुँ । उहाँ नेकपा एमालेका नेता हुनुहुन्छ । म अनुरोध गर्न चाहन्छु–केही कुराहरुमा तपाई हामी मिलौं । देश निर्माण गर्ने कुरामा अघि पनि भने–पार्टी भन्दा माथि उठौं । संविधानमा केही कुरामा संशोधन गरौं । समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔं । प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौं । स्थिर सरकार बन्नसक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैं टालाटुली बटुली । तपाईले एउटालाई तान्ने, मैले एउटालाई तान्ने । तानातान गर्ने काम केही नहुने । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ ।’


सम्बन्धित खबरहरु