दूध उत्पादकको बक्यौता भुक्तानी गर्न डीडीसीलाई ३० करोड

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १५:०५ मा प्रकाशित ( महिना अघि) ७० पाठक संख्या

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ पनि उपलब्ध गराएको छ।

डीडीसीलाई ३० करोड सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपैयाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।

 

दूध तथा दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी दिन नसकेको भन्दै डीडीसीले कृषि मन्त्रालयसँग सहुलियत ऋण माग गरेको थियो।

मन्त्रालय सम्हालेकै दिन मन्त्री ज्वालाकुमारी साहले दूध उत्पादकको बक्यौता रकम उपलब्ध गराउन पहल गर्ने बताएकी थिइन्। कृषिमन्त्री साहले शुक्रबार नै अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेकी थिइन्। छलफलपछि अर्थ मन्त्रालयले ३० करोड उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए।

 

डीडीसीले करिब एक अर्ब रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। डिडिसीका महाप्रबन्धक सञ्जीव झाले सरकारबाट ऋणमा पाएको ३० करोड रुपैयाँबाट किसानलाई भुक्तानी दिने बताए। मौज्दात रहेका समान बिक्री भएपछि सरकारको ऋण तिर्ने उनले जानकारी दिए।


सम्बन्धित खबरहरु