सत्ता गठबन्धनको कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

ओकेखबर संवाददाता ३ चैत्र २०८०, शनिबार १२:१९ मा प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाइएको छ ।
दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबार शीर्ष नेताहरुलाई बुझाएको हो ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती र समाधान, आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको छ ।

कार्यदलको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र रास्वपा सभापति रवि लामिछानेले बुझेका छन् । कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् ।


सम्बन्धित खबरहरु