भृकुटीमण्डपमा २५ औँ पुष्प मेला

ओकेखबर संवाददाता २ चैत्र २०८०, शुक्रबार ०६:२९ मा प्रकाशित ( महिना अघि) १६८ पाठक संख्या

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा २५औँ पुष्प मेला सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा बिहीबारदेखि सुरु भएको उक्त मेला यही चैत ४ गतेसम्म सञ्चालन हुनेछ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। मेला करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उनले रू एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताए।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि रू एक सय ५० र विद्यार्थीका लागि रू एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ। २५औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको हो।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए।

विशेषगरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ । वार्षिक रू तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको छ। रासस


सम्बन्धित खबरहरु