विश्वासको मत पाएपछि प्रचण्डले भने– मेरो जिम्मेवारी अझ बढेको छ

ओकेखबर संवाददाता ३० फाल्गुन २०८०, बुधबार १६:२४ मा प्रकाशित ( महिना अघि) १२ पाठक संख्या

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् ।

बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिए ।

‘मेरो जिम्मेवारी अझ बढेको छ । राष्ट्र र जनताको पक्षमा राम्रा काम तिव्र गतिमा पुरा गर्ने, अगाडी बढाउने जिम्मेवारी हो यो उनले भने मेरो काँधमा जिम्मेवारी थपिएको छ । म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

उनले राष्ट्र र जनताको पक्षमा राम्रो काम तिब्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए ।

उनले काँधमा जिम्मेवारी थपिएको बताए । उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए ।

‘आजको संसदमा जिवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजिव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु उनले भने ‘मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभुति र अलग अलग अनुभव पनि भए ।’

उनले आफूलाई विश्वासको मत दिने सांसदहरु र संसदप्रति आभार पनि व्यक्त गरे ।

 

संसदमा विश्वासको मत माग्दै के–के भने प्रचण्डले ?  पूर्णपाठ हेर्नुहोस्

सम्माननीय सभामुख महोदय,
नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोष्टममा उभिएको छु ।
सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित संसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसदमा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिवद्ध छु, त्यसका लागि यो सार्वभौम संसदको विश्वास चाहन्छु ।

प्रधानमन्त्रीका रुपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरतरुपमा लागे । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएका छन् । चालु आर्थिक बर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपैयाले शोधनान्तर बचत छ भने, विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैया बराबर पुगेको छ । व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५.१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।

बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।

मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ ।

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ ।

सरकारका उपलब्धिहरुको सूचि सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो वाध्यता रह्यो ।

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरुको ठूलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो । तर, संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु ।

नेपाली कांग्रेसका साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर संघर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिष्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ ।

विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ । मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो । आज मलाई गाली गरिरहेका साथीहरुलाई म सोध्छु, मैले कहिल्यै यो संसद र बाहिर धोकाको शोकगीत गाएँ ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरुको मानमर्दन गरेँ ? गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।

धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम ? महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ? तर, म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्छ । नेपाली कांग्रेसका साथीहरुबाट पनि म त्यही अपेक्षा गर्दछु ।

यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शतिm विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसदलाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरुको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनैपर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नैपर्छ ।

सभामुख महोदय,
सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् । राजस्वको लक्ष्य पुरा गर्न, पूँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउनेछ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ ।

सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चार बुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लािग सुलभ ऋणको ग्यारेन्टी गरिनेछ । संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिवद्धता हुनेछ । शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुनेछ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिक मैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।

संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न म संसदसँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसदको समर्थन चाहिएको छ ।

म सम्मानित संसदलाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।

सभामुख महोदय,
मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भएपनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो संकल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिवद्धतामा यो सम्मानित संसदले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद ।

 


सम्बन्धित खबरहरु