द्रुतमार्ग निर्माण अपेक्षाअनुसार अघि बढ्न नसकेको रक्षामन्त्रीकाे स्वीकारोक्ति

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १६:२५ मा प्रकाशित ( महिना अघि) २१० पाठक संख्या

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अदालतमा विचाराधीन मुद्दाका कारण नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माण कार्यले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जग्गा प्राप्ति, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा कतिपय मुद्दा विचाराधिन अवस्थामा रहेकाले सो द्रुतमार्गको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको प्रष्टयाएका हुन् ।

उपप्रधानमन्त्री खड्काले थप गरिएको समय २०८३ साल चैत मसान्तभित्र सो दु्रतमार्गको काम सम्पन्न हुने आश्वासन समेत दिए । दु्रतमार्ग निर्माणको क्रममा देखिएका समस्या समाधानका लागि सरकारले विभिन्न समितिहरु बनाएको र त्यसले ती समस्याहरुलाई समाधान गर्दै आएकाले थप गरिएको समयमा निर्माण कार्यले पूर्णता पाउने तर्क उनले गरे ।

उपप्रधानमन्त्री खड्काले हालसम्म सो दु्रतमार्गको काम ३० दशमलव ९६ प्रतिशत सम्पन्न भइसकेको पनि समितिलाई जानकारी गराए ।

‘जग्गा प्राप्ती, वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा लामो समय लाग्ने, प्रस्थान बिन्दुको विवादलगायतका विषयमा अदालतमा मुद्दा पर्ने र त्यस्ता मुद्दा विचाराधीन रहेको अवस्थामा खरिद व्यवस्थापनको कार्य अगाडि बढाउन नसकिने जस्ता कारणले अपेक्षित प्रगति भने हासिल हुन सकेको छैन । आयोजना कार्यान्वयनको क्रममा देखिएका समस्या समाधान गर्न समितिहरु गठन भई समस्या निदानका लागि कार्य भइरहेको कुरा म माननीय सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

उनले अगाडि भने, ‘यसैक्रममा कतिपय समस्याहरु समाधान भइसकेका छन भने केही समस्याहरु निराकरण हुने चरणमा रहेको जानकारी गराउन चाहन्छु । यी विविध समस्याले गर्दा सोचेअनुरुप लक्ष्य हासिल गर्न नसकिएको भएतापनि हालसम्म अधिकांश प्याकेजहरु खरिद प्रक्रिया र निर्माणको प्रक्रियामा प्रवेश गरिसकेको साथै प्रारम्भिक चरणका सम्पूर्ण कार्यहरु सम्पादन गरी दु्रतमार्ग निर्माणको भौतिक प्रगति ३० दशमलव ९६ प्रतिशत हासिल भइसकेकोले २०८३ चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म सम्माननीय अध्यक्षज्युमार्फत माननीय सदस्यहरुलाई आश्वस्त पार्न चाहन्छु ।’

नेपाली सेनाले जिम्मा लिएको सो दु्रतमार्गको काम २०८१ मंसिरभित्र सम्पन्न गरिसक्ने सम्झौता गरिएको थियो । तर त्यस अवधिमा नसकिने भएपनि २०८३ साल चैत मसान्तसम्मको समय थप गरिएको छ । उपप्रधानमन्त्री खड्काले थप गरिएको पछिल्लो समयभित्र द्रुतमार्गको निर्माण कार्य सम्पन्न हुने आश्वासन दिए ।


सम्बन्धित खबरहरु