मोरङ दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

ओकेखबर संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार ११:४० मा प्रकाशित ( महिना अघि) २३ पाठक संख्या

इटहरी। मोरङको बेलबारी नगरपालिका १ र ३ को सिमानामा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटना झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

 

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको न्युरो अस्पतालमा मृत्यु भएको हो। गजुरेल बोलेरो चालक रहेको तथा खनाल र भट्टराई बोलेरोमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका कमल गाउँपालिका-४ का ४६ वर्षीय हरि खनाल र कमल- २ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरो अस्पतालमै उपचार भइरहेको एसपी कार्कीले बताए।

 

पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गुडिरहेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। त्यसपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ गुडिरहेको मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएको थियो।

टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस चालक सुन्दरहरैँचा-१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु