सेनाको भावी कार्ययोजना बनाउन पृतनापति समन्वयात्मक बैठक सुरु

ओकेखबर संवाददाता १६ फाल्गुन २०८०, बुधबार २०:०५ मा प्रकाशित ( महिना अघि) ९२ पाठक संख्या

काठमाडौं । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक–२०८० बुधबारदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा सहभागीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरुको समीक्षा एवं सुझावहरु प्रस्तुत गर्नेछन् ।

बैठकका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीबारे छलफल गरी त्यस्ता चुनौती सामना गर्ने उपायहरू पहिल्याउन बैठक महत्वपूर्ण हुने बताए । उनले बैठकका निष्कर्षहरुले सेना र रक्षा मन्त्रालयलाई समेत भावी कार्ययोजना तर्जुमा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बाह्य रुपमा नेपालको भूराजनीतिक अवस्थिति, शक्ति राष्ट्रहरुको रणनीति र प्रतिस्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीहरुको विश्व मञ्चमा बढ्दो उपस्थिति श्रम आप्रवासन, खुला सिमाना, प्रविधिको विकास लगायत विषयहरुले सुरक्षा वातावरणमा श्रृजना गर्दै आएका प्रभावहरु एवं आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहहरुको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिहरुको सूक्ष्म विश्लेषणसहित समग्र राष्ट्रिय सुरक्षामा देखापरेका चुनौतीहरुको आकलन गर्न जरुरी रहेको मन्त्रीको खड्काको भनाइ थियो ।

उनले सेनालाई सबल र समयानुकुल बनाई राख्न आवश्यक कानूनी प्रावधानहरुको तर्जुमा तथा विद्यमान कानूनी प्रावधानहरुलाई अद्यावधिक गर्ने तर्फ प्राथमिकताका साथ कार्य भईरहेको जानकारी गराए । बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरुका साथै पृतनापतिहरु सहभागी छन् ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले परम्परागत र अपरम्परागत खतराहरुद्वारा सिर्जित सुरक्षा चुनौतीहरुलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको बताए । सोही अनुरुप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयहरुमा छलफल गर्न बैठक फलदायी हुने उनको भनाइ थियो ।


सम्बन्धित खबरहरु