काठमाडौं । चार महिनायताको करिब ७ अर्ब रकम पाउन नसक्दा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार दुग्ध क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा करिब ३० लाख परिवार संलग्न छन् । तिनले ७४ लाख गाई र ५२ लाख भैंसी पालेका छन् । तर धेरैजसो किसान परिवारले ३/४ महिनायता दूध बेचेको पैसा पाएका छैनन् ।
पाँचखाल नगरपालिका–३ का भीमसेन हुमागाईं दिनको १० लिटर दूध बेच्छन् । तर तीन महिनायता पैसा पाएका छैनन् । डेरीले बक्यौता नदिएपछि गाईभैंसी पाल्न धौ–धौ भएको हुमागाईं बताउँछन् ।
‘एउटा गाई र भैंसीबाट दिनको १५ लिटरसम्म दूध बिक्री गर्थें । महिनायता गाईबाट मात्रै दिनको १० लिटर दूध बेच्छु । तर डेरीबाट ३ महिनादेखि पैसा पाएको छैन,’ भने, ‘डेरीले पैसा नदिँदा गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ता परेको छ ।’
डेरीले भुक्तानी गर्न नसकेको भन्दै रकम घटाएपछि बाध्य भएर दूध दिनुपरेको हुमागाईंको गुनासो छ । बाराको कोल्हवी–९ का थानेश्वर पहाडीलाई पनि दूधको भुक्तानी नपाएकै चिन्ता छ । ७० गाई पालेका पहाडीले दिनको ३ सय लिटर दूध बेच्छन् ।
दाना–चोकरको खर्च कटाएर महिनाको २ लाख बचाउँछन् । तीन महिनायता उनले दूध बेचेको पैसा पाएका छैनन् ।
स्वदेशमा पर्याप्त दूध उत्पादन हुँदा आयातमा केही कडाइ गरिदिए किसानले ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । तर खुला सीमाका कारण अवैध दूध आयात हुँदा यहाँका किसान समस्यामा परेको उनले जनाए ।