१६ अर्ब बढी ठगीको आरोप लागेका राईविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

ओकेखबर संवाददाता १४ माघ २०८०, आईतवार ०६:४३ मा प्रकाशित ( महिना अघि) १०९ पाठक संख्या

काठमाडौं । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौँ संघ संस्था खडा गरेर फरार रहेको भन्दै विश्वभर खोजतलासका लागि सहजीकरण गर्न शुक्रबार साँझ अध्यक्ष राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस पत्राचार गरेपछि इन्टरपोलमार्फत सो नोटिस जारी भएको हो।

कास्की प्रहरीको उक्त पत्र पश्चात् इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) ले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो।

 

प्रहरी प्रधानकार्यालयको आधारमा डिफ्युजन नोटिस जारी भएको इन्टरपोल शाखाले जनाएको छ। राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था, वीरगन्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएको थियो।

 

काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लगायत पनि राई समूहबाटै सञ्चालन भएको थियो। सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत मुछिएका छन् ।


सम्बन्धित खबरहरु