श्रम स्वीकृति लिएर विदेश जाने ६ महिनामा तीन लाख

ओकेखबर संवाददाता ६ माघ २०८०, शनिबार १८:३५ मा प्रकाशित ( महिना अघि) ११७ पाठक संख्या

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए। उनले भने, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो।’

चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन र भदौभन्दा मङ्सिर र पुसमा सङ्ख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन्। रासस


सम्बन्धित खबरहरु