यू-१९ विश्वकप : अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई हरायो

ओकेखबर संवाददाता २९ पुष २०८०, आईतवार ०७:२९ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । आईसीसी यू-१९ विश्वकपअघिको वाम अप खेलमा नेपालले स्कटल्यान्डलाई डिएलएस मेथडमा ७ विकेटले पराजित गरेको छ । शनिबार दक्षिण अफ्रिकामा वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउँदा ३ विकेट गुमाएको थियो ।

 

नेपालका लागि अर्जुन कुमालले ३३ रन र आकाश त्रिपाठीले २९ रन जोडेका थिए। त्यसपछि खेल वर्षाले हुन नसक्दा नेपाल विजयी भयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४४.४ ओभरमा ११४ रनमै अलआउट भयो । उसका लागि यू अहमदले ३१ रन जोडे ।

 

बलिङमा नेपालका गुल्सन झा र तिलकराज भण्डारीले ३/३ विकेट लिन सफल भए । अब नेपालले मंगलबार वेस्ट इन्डिजसँग दोस्रो औपचारिक वाम अप खेल खेल्नेछ । अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हराइसकेको छ ।

 

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।

 

नेपालले विश्वकपमा पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ । नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो । ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा यूएईलाई स्तब्ध पारेको थियो ।


सम्बन्धित खबरहरु