लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति सुधारौं : अध्यक्ष ढकाल

ओकेखबर संवाददाता २८ पुष २०८०, शनिबार १८:३५ मा प्रकाशित ( महिना अघि) ८१ पाठक संख्या

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताए । आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए ।

अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुलाई प्रत्येक दुई÷दुई वर्षमा सिआईपी दिने गरेको भएपनि लविङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे ।
उनले भने– ‘अहिले लगानी सम्मेलन जुन वैशाखमा आयोजना भइरहेको छ । त्यसमा एउटा कमिटी पनि गठन भएको छ । कतिपय हाम्रा नीतिगत समस्याहरुलाई कसरी हटाउने भनेर प्रत्येक हप्तामा दुई तीन वटा बैठक बसेर यसको काम पनि अघि बढेको छ । यसले आन्तरिक र वाह्य लगानीलाई मद्दत पुग्छ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताए ।

उनले एकद्वार सर्भिस छ भनेपनि हुने नगरेको गुनासो गरे । उनले छिटो भन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए ।
उनले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमुलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए ।
उनले निर्यात प्रवद्र्धनमा एकद्वारा प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।


सम्बन्धित खबरहरु