सहकारी अपलचनमा १९ जना दोषी ठहर

ओकेखबर संवाददाता २७ पुष २०८०, शुक्रबार ११:२८ मा प्रकाशित ( महिना अघि) ९९ पाठक संख्या

खजुरा । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेडको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर/सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।

अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताउ । उनका अनुसार, अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता, २०७४ बमोजिम अभियुक्तबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो भराई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ । सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीबाट चार करोड ४८ लाख ९५९ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको सूचना अधिकारी भट्टराईले जानकारी गराए ।

 

सहकारीको व्यवस्थापकीय भूमिकामा रहेका कर्मचारी गंगाधर सुवेदीबाट दुई करोड ८३ लाख ७३ हजार २९५ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्ने अदालतले आदेश गरेको छ । लीला भनिने लीलाप्रसाद वलीबाट ८९ लाख २९ हजार ७२५ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय तोकिएको छ ।

सहकारीका कर्मचारी किरण श्रेष्ठबाट ८६ लाख ३५ हजार ४५४ रुपैयाँ बिगो, ५० हजार जरिवाना गर्न र पाँच वर्ष कैद सजाय गरिएको छ । गौरवकुमार श्रेष्ठबाट एक लाख २९ हजार ४९१ रुपैयाँ बिगो भराउन, ४० हजार जरिवाना र चार वर्ष कैद सजाय गर्न आदेश दिइएको अदालतका सूचना अधिकारी भट्टराईले बताए ।

 

यसैगरी, सहकारीका कर्मचारी सुरतराम खटिकबाट ९८ लाख ४८ हजार २७४ रुपैयाँ बिगो भराउन, ५० हजार जरिवाना र पाँच वर्ष कैद, बलराम यादवबाट ५३ लाख ६९ हजार ६५२ रुपैयाँ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिइएको छ ।

सहकारीका खजुरा शाखाका प्रमुख सूर्यबहादुर विकबाट ३३ लाख ६० हजार ६८१ रुपैयाँ बिगो, ५० हजार जरिवाना र पाँच वर्ष कैद सजाय गर्न आदेश दिइएको छ ।

सहकारीको लेखा समितिमा कार्यरत स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लीला शाहलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने अदालतले आदेश गरेको छ ।

सहकारी संस्थाका पूर्वअध्यक्षहरू सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद, पाँच हजार जरिवाना, अम्बरबहादुर खड्का र हरदेवबक्स चौधरीलाई पाँच/पाँच वर्ष कैद र ५०/५० हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिइएको अदालतका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

यसैगरी, सहकारीका उपाध्यक्ष रवीन्द्र थापालाई तीन वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । सहकारीकी कर्मचारी शारदाकुमारी थापा मगरलाई एक वर्ष कैद र पाँच हजार जरिवाना रुपैयाँको आदेश भएको छ ।

पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुसी तुल्याएको बताए । उनले भने, “अब अदालतले तोकेको जरिवाना र बिगो रकम तिर्न आएमा सहमति हुनसक्छ ।”

सहकारीको रकम अपचलन मुद्दामा बाँके जिल्ला अदालतले स्वागतयोग्य आदेशले पीडितले न्यायको महसुस गरेको जाहेरवालाका तर्फबाट पैरवी गरेका नेपालगन्जका वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले बताए । लामो संघर्षपछि सयौँ गरिब बचतकर्ता पीडितले यो फैसलाले न्याय पाएको महसुस गरेको उनले बताए ।

 

बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ४३ करोड रुपैयाँ घोटालामा अन्यले सफाइ पाएका छन् । सातजना अहिले पनि कारागारमा रहेका छन् । अरू धरौटीमा छुटेका थिए । ११ हजार ८०४ निक्षेपकर्ता रहेको सहकारीमा ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । त्यसयता पीडित निरन्तर सडकमा रहेका छन् । सहकारीमा ठगिएका एक दर्जन पीडितको योबीचमा मृत्यु भइसकेको छ ।

जिल्ला अदालतले सहकारी संस्थाका सञ्चालक समिति विघटन गर्न यसअघि नै आदेश दिइसकेको छ । बचतकर्ताले जम्मा गरेको करिब ३८ करोड रुपैयाँ हिनामिना भएपछि नेपालगन्जको सहकारी वृत्ति विकास संस्था २०७६ असोजदेखि बन्द छ । रासस


सम्बन्धित खबरहरु