यमनमा हुथीविरुद्ध अमेरिका र बेलायतको हवाई हमला

ओकेखबर संवाददाता २७ पुष २०८०, शुक्रबार ११:१५ मा प्रकाशित ( महिना अघि) ७७ पाठक संख्या

काठमाडौं । अमेरिका र बेलायती सैनिकले यमनमा हुथी विद्रोहीलाई लक्षित हवाई हमला गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई इरान समर्थित हुथी विद्रोहीले लालसागर (रेड सी)मा पानीजहाजमाथि गरेको आक्रमणको जवाफी हमला भनेका छन् ।

प्यालेस्टाइनको लडाकु समूह हमासले गरेको आक्रमणपछि इजरायलले अक्टोबर ७ देखि गाजामा युद्ध थालेको थियो । गएको नोभेम्बरदेखि हुथीले लालसागरमा इजरायलतर्फ जाने पानीजहाजमा आक्रमण गर्न सुरु गरेको थियो ।

हुथी उपविदेशमन्त्री हुसेन अल–इज्जीले अमेरिका र बेलायतले यो आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शाही वायुसेनाका लडाकु विमानले हुथीको सैन्य सुविधाविरुद्ध लक्षित हमला गर्न मद्दत गरेको बताएका छन् । उनले यो कदम आत्मरक्षाका निम्ति सीमित र आवश्यक भएको बताएका छन् ।

नेदरल्यान्ड्स, अस्ट्रेलिया, क्यानडा र बहराइनले यो मिसनमा सहयोग गरेको बाइडेनले बताएका छन् ।

यमनको राजधानी साना, लाल सागरमा रहेको हुथीको बन्दरगाह हुदायदाह, धामार र उत्तर–पश्चिमस्थित हुथीको किल्ला मानिने सादामा आक्रमण गरिएको बताइएको छ ।

यमनको ठूलो हिस्सा हुथीको नियन्त्रणमा छ । इजरायलतर्फ जाने जहाजलाई लक्षित गरेर हुथीले हमासलाई समर्थन गरिरहेको छ ।

-बीबीसी


सम्बन्धित खबरहरु