निःशुल्क शिक्षाका लागि ऐनमा तोकेरै शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्छ : सरोकारवालाहरू

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार १७:४३ मा प्रकाशित ( महिना अघि) ७७ पाठक संख्या

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निःशुल्क शिक्षाको सुनिश्चितता हुनेगरी प्रावधान राख्न सरोकारवालाहरूले माग गरेका छन् ।

बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्दै सरोकारवालाहरूले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले यस अघिका शिक्षा ऐनहरूमा पनि निःशुल्क शिक्षाको प्रावधान भएपनि विभिन्न बहानामा विद्यार्थीहरूलाई शुल्क तिर्न बाध्य पारिएको भन्दै अब ऐनमा तोकेरै शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका उपाध्यक्ष शुभेन्द्रमान श्रेष्ठले बालबालिकाको शैक्षिक, स्वास्थ्य, पोषण र अतिरिक्त क्रियाकलाप सम्बन्धी शुल्क बापतको रकम लिन नपाउने भनी ऐनमै तोक्नुपर्ने बताए । उनले ऐनमा प्रस्तावित परिभाषाले मात्रै निःशुल्क शिक्षाको परिभाषालाई समेट्न नसकेको उल्लेख गरे ।

उनले कक्षा १ देखि कक्षा ३ सम्मलाई प्रारम्भिक कक्षाको परिभाषामा समेट्नुपर्ने बताए । उनले ऐनमा निजी लगानीको विद्यालय नभनी सार्वजनिक विद्यालय वा सार्वजनिक गुठिका विद्यालय भनेर मात्रै राख्नुपर्ने बताए । उनले विधेयकले सङ्घले चाहेको जस्तो शिक्षाको प्रबन्ध गर्न खोजिएको र स्थानीय सरकारको अधिकार खुम्चिएको बताए ।

त्यस्तै बैठकमा बोल्दै शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष जनक नेपालले विधेयकले निजी र सार्वजनिक शिक्षा प्रणाली भनेर दुई कित्तामा भएको शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने बताए । उनले निजी गुठी भनेर नराखी सार्वजनिक शैक्षिक गुठी भनेर राख्नुपर्ने बताए । उनले विधेयकले निःशुल्क शिक्षालाई सुनिश्चित गर्न प्रष्ट कानुनी प्रबन्ध गर्नुपर्ने बताए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका प्रतिनिधि लालबहादुर विश्वकर्माले विधेयकले छात्रवृत्तिको कुरा नसमेटेको भन्दै छात्रवृत्ति प्रदान गर्ने विषयलाई विधेयकमा उल्लेख गर्नुपर्ने बताए । उनले दलित तथा सीमान्तकृत, महिला, जनजाति र मधेसी समुदायलाई छात्रवृत्ति दिनुपर्ने र ऐनमा सो व्यवस्था हुनुपर्ने बताए ।

उनले विधेयकले पछि परेका वर्गको शिक्षाको विषयलाई नसमेटेको भन्दै पछि परेका वर्गलाई लक्षित गरेर विधेयक आउनुपर्नेमा जोड दिए ।


सम्बन्धित खबरहरु