युरोप, जापान, कोरिया, इजरायललगायतका देशमा रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

ओकेखबर संवाददाता २५ बैशाख २०८१, मंगलवार ०९:१५ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

काठमाण्डौ – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर युरोप, जापान, कोरिया, इजरायललगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगीका घटना भइरहेको जनाएको हो ।

आकर्षक रोजगारीको प्रलोभन देखाएर युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा कामको अवसर छ भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना प्रेषित गर्ने र भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको पाइएको छ । यस्ता ठगी तथा गैरकानुनी कामलाई रोक्न मन्त्रालय र अन्तर्गतका निकाय तथा नियमनकारी निकायहरु लागिपरेका मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन सर्वसाधारण आफै चनाखो हुनुपर्नेमा मन्त्रालयको जोड छ । वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्थामार्फत मात्र प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आग्रह गरेको छ ।

कुनै संस्था इजाजतपत्र प्राप्त हो वा होइन, वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत यकीन गर्ने, बिना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिने र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउने गर्दा ठगी बाट बच्न सकिन्छ ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ ।

अवैध रुपमा रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र त्यसको ५० प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।


सम्बन्धित खबरहरु