युक्रेन युद्ध रोक्न महत्वपूर्ण कदम चाल्न चीनलाई युरोपेली देशको आग्रह

ओकेखबर संवाददाता २५ बैशाख २०८१, मंगलवार ०८:०५ मा प्रकाशित ( हफ्ता अघि) २८ पाठक संख्या

फ्रान्स र युरोपेली सङ्घ (इयु) ले युक्रेनमा भईरहेको  रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले पेरिसमा भएको शिखर सम्मेलनमा हिजो चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनमा जारी रुसी युद्ध रोक्न चीनको पहल अपरिहार्य रहेको बताउनुभएको हो ।

उहाँहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गर्नुभएको छ । सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उहाँले सर्बिया र हङ्गेरीमा पनि वार्ता गर्नुहुनेछ ।  राष्ट्रपति सीले पनि युक्रेनमा शान्ति चाहेको बताउनुभएको छ ।

उहाँले चीन र इयुले साझेदार रहेर रणनीतिक समन्वय गरी विश्व शान्ति तथा विकासमा नयाँ योगदान दिनुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । युक्रेन युद्धमा आधिकारिकरूपमा तटस्थ रहँदै चीनले अनिवार्यरूपमा रुसको समर्थन गरिरहेका भन्दै युरोप चिन्तित रहेको खबरमा उल्लेख छ । रुसले पहिला नै हतियारहरूको उत्पादनमा चिनियाँ मेसिन उपकरणहरूको प्रयोग गरिरहेको छ ।


सम्बन्धित खबरहरु