बलात्कार मुद्दामा दाेषी ठहर सन्दीपलाई आज सजाय सुनाइँदै, कानुन अनुसार कस्ताे हुन्छ सजाय ?

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार ०७:३८ मा प्रकाशित ( महिना अघि) १२८ पाठक संख्या

काठमाडौं । काठमाडाैं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान र नियमित सदस्य सन्दीप लामिछानेलाई आज सजाय सुनाउँदैछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

१३ पुसमा ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियाे । साेही दिन लामिछानेमाथि सजाय निर्धारण गर्न आजका लागि पेसी तोकिएको थियाे । तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।

पीडितकाे उमेरमा अल्झिएकाे थियाे मुद्दा

यो मुद्दामा पीडित किशोरीको उमेर विवाद निकै उल्झिएको थियो । पीडित पक्षले किशोरी नाबालिका रहेको भनेर जाहेरी दिएका थिए । वादी पक्षले पनि उनी नाबालिका नै रहेको दाबी गर्दै आएको थियो । तर, लामिछानेका अधिवक्ताहरूले पनि किशोरी बालिग रहेको भन्दै दाबी गरेका थिए ।

१३ पुसमा सन्दीपलाई दोषी ठहर गर्दै बारदात हुँदाको दिन किशोरीको उमेर १८ वर्ष पूरा भएको पनि अदालतको फैसलामा भनिएको छ । सोहीअनुसार जिल्ला अदालतले लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) को कसुरमा दोषी ठहर गरेको छ ।

जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘… परिवर्तित नाम गौशाला २६-६-१-२०७९/८० को जन्ममिति २०६१/३/१८ मा भएको देखि वारदात हुँदाको दिन निजको उमेर १८ वर्ष पुगीसकेको देखियो ।’ तर, सँगै अदालतले उनको नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिएको अदालतले जनाएको छ ।

‘…१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६-६-१-२०७९/८० को नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर्छ ।’

जिल्ला अदालतले लामिछानले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर गरेको छ । उक्त संहिताको दफा २१९ मा जबर्जस्ती करणी गर्न नहुने व्यवस्था छ । २१९ को उपदफा १ मा कसैले जबर्जस्ती करणी गर्न हुँदैन लेखिएको छ ।

उपदफा २ मा यस्तो व्यवस्था छ- ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’

त्यस्तै उपदफा ३ (ङ) मा अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । लामिछानेलाई यो उपदफाअन्तर्गतको कसुरमा दोषी ठहर भएका छन् ।

साथै उपदफा (३क) (ग) मा उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय हुने कसुरदारलाई तीन लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

किशोरीको उमेर १८ वर्ष पुगेकाले उपदफा (३) (घ) बमोजिमको कसुर कायम गर्ने दाबी नपुग्ने फैसला भएको छ । उपदफा (३) (घ) मा सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


सम्बन्धित खबरहरु