मित्रमिलन सहकारीका अध्यक्ष र सीईओलाई थुनामा पठाउन आदेश

ओकेखबर संवाददाता २३ पुष २०८०, सोमबार ०८:३७ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

पोखरा। सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। उनीहरू दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए।

कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए। ३२ वर्षीय अध्यक्ष पौडेल स्याङ्जा आँधिखोला ४ स्थायी वासिन्दा हुन् भने २८ वर्षीय अधिकारी पोखरा २३, खोरापाखाका हुन्।

बिहीबार र शुक्रबार उनीहरूको बयानपछि आइतबार थुनछेक बहस भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन्। सहन्यायाधिवक्ता शर्माका अनुसार पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा झण्डै २१ करोड रकम बिगो माग दाबी र कैद सजायका लागि जाहेरी परेको थियो। त्यसो त उक्त ठगी प्रकरणमा प्रतिवादी ३३ जनामध्ये कतिपयले थप मुद्दा खेपेका छन्।

उक्त ठगी अभियोगमा पूर्व रजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। न्यायाधीश ऋषिराम आचार्यको इजलासले इजलासले गत मंगलबार पराजुलीसहित सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा १७, बिरौटाका ४२ वर्षीय बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

मित्रमिलन सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ। विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो।

सहकारी सञ्चालक समितिका पदाधिकारीसमेत बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन्। प्रतिवादीमध्ये अझै २७ जना फरार छन्।


सम्बन्धित खबरहरु