समितिमा शिक्षकले भने- जागिर जोगिएन भने आत्महत्याको खबर आउन सक्छ

ओकेखबर संवाददाता २० पुष २०८०, शुक्रबार ०७:१५ मा प्रकाशित ( महिना अघि) ५४ पाठक संख्या

काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन्।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टीकाप्रसाद न्यौपानेले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुको जागिर जोगाइदिन आग्रह गरेका हुन्।

उनले साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई तत्कालिन समयमा लाइसेन्सबिना नियुक्त गरेको भए पनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले अहिले स्थानीय तहहरुले जबर्जस्त लाइसेन्स ल्याउन र नल्याएको खण्डमा बर्खास्तीसमेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरुको जागिर जोगाइदिन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरे।

उनले शिक्षकहरुको आत्महत्या गरेको खबर आउन सक्ने भन्दै यसतर्फ सचेतसमेत गराए। उनले शिक्षक महासंघले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताए।

उनले भने ‘११-१२ को द्वितिय श्रेणीलाई कहाँ राख्नुहुन्छ? दरबन्दीमा लाने, सेकेण्ड क्लासमा लानुपर्‍यो नि। तलव, भत्ता खाइरहनु भएकै छ। अन्याय हुँदैन? तृतिय श्रेणी भनेर? कहाँनिर एडजस्ट गर्ने हो यो गर्नुपर्‍यो। किनभने साविक उच्च माध्यामिक तहमा कार्यरत शिक्षकहरु शिक्षा ऐनको आठौँ संशोधनको दफा ३९ अनुसार मा.वि. द्वितिय श्रेणीमा शिक्षक भएका हुन्। म हार्दिक अनुरोध गर्छु, यी साथीहरुको जागिर जोगाइदिनुहोस्। आज आत्महत्या गरेर मरे भनेर खबर नआओस्।’

त्यस्तै, बैठकमा बोल्दै माध्यामिक विद्यालय शिक्षक युनियनकि सहअध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुलाई नजिकबाट हेर्नुपर्ने बताए। उनले माध्यामिक विद्यालयहरुलाई व्यवस्थित गर्न आग्रहसमेत गरे।


सम्बन्धित खबरहरु