दाङका शिवराज केसीको हत्या आरोपी चार जना सार्वजनिक

ओकेखबर संवाददाता १८ पुष २०८०, बुधबार १८:१२ मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–६, अघराका शिवराज केसीको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै केसीको हत्या अभियोगमा बंगलाचुली गाउंपालिका–१ का शेर बहादुर मगर, दिपा मगर, तिलक पुन मगर र मेघराज मगरलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा प्रयोग भएको भरुवा बन्दुक , ठूलो गोली ३९ थान, छर्रा १०८ थान र केही बारुद बरामद गरिएको जनाएको छ ।

उनीहरूले केसीको हत्या गरी शव स्थानीय कोइलाखानीको सुरुङभित्र राखेको अवस्थामा फेला पारेको र त्यसपछि अनुसन्धान गर्दा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए । उनीहरुले पुस ८ गते भरुवा बन्दुकले गोली हानेर केसीको हत्या गरेको मल्लले बताए ।

लेनदेनको बिषयमा विवाद हुँदा उनीहरुले केसीलाई भरुवा बन्दुकले हानेर हत्या गरेको खुलेको समेत प्रहरीले जनाएको छ । हत्या गरिएका केसीको दिपासंग सम्बन्ध रहेको र त्यसको फाइदा उठाउन लाग्दा घटना भएको प्रहरीको भनाइ छ । पक्राउ परेका शेरबहादुर मगर र दिपाले घोराहीबाट बंगलाचुली लगेर जग्गा माग गरेको र नदिएपछि भरुवा बन्दुकले हानी हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु